मधेसको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शनिबार संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री यादवले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

गत कात्तिक २८ गते तत्कालीन मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समय दिएका थिए ।

तर निर्धारित समयभित्र कुनै पनि दलले सरकार गठनका लागि दाबी पेस गर्न नसकेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मधेस प्रदेशसभामा जसपा नेपाल २७ सांसदसहित सबैभन्दा ठूलो दल हो । १०७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा जसपा नेपालका २७, नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।