

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कार्यकाल सकिन १७ महिना बाँकी रहँदै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
उनले अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर प्रहरी प्रमुख हटाउनु सुशासन नभई शक्ति प्रदर्शन भएको टिप्पणी गरेका छन्।
आङ्देम्बेले देशमा बाढीपीडितको समस्या, सुकुम्बासीको अवस्था र महँगीजस्ता गम्भीर विषय हुँदाहुँदै सरकारको प्राथमिकता आईजीपी परिवर्तनमा केन्द्रित भएको भन्दै प्रश्न उठाएका छन्।
‘वर्तमान सरकारको प्राथमिकता १७ महिना कार्यकाल बाँकी भएका प्रहरी प्रमुख (आईजीपी) लाई हटाउनेमा केन्द्रित भयो। के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो? भोटेकोशी र बूढीगण्डकी बाढीले नागरिकहरू पीडामा छन्। विस्थापित सुकुम्बासीको बेहाल छ। महँगीले जनजीवन आक्रान्त छ। देश गम्भीर सङ्कटतिर फस्दैछ,’ उनले भनेका छन्।
प्रहरी प्रमुखलाई कुन तथ्य र प्रमाणका आधारमा हटाइएको हो भन्नेबारे सरकारले जवाफ दिनुपर्ने उनको माग छ।
सरकारका प्रवक्ता पार्टीको निर्देशनमा आईजीपी हटाइएको बताउने तर रास्वपाकै प्रवक्ताले पार्टीको निर्देशन नभएको बताएको उल्लेख गर्दै उनले सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्न गरेका छन्।
‘उसो त सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन्। तर, रास्वपाकै प्रवक्ता पार्टीको निर्देशन नभएको बताउँछन्। आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो?’ उनले प्रश्न गरेका छन्।
अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेको बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको भन्ने विषयलाई पनि उनले गम्भीर रूपमा उठाएका छन्। ‘अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो? मोबाइलमा भएको के मेटाउनु थियो?’ उनले प्रश्न गरेका छन्।
जनताले दिएको मत सत्ता र शक्तिको दुरुपयोग गर्न तथा प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्नका लागि नभएको आङ्देम्बेको भनाइ छ।
‘जनताले ठूलो आशा र अपेक्षासहित वर्तमान सरकारलाई मत दिएका हुन्। त्यो मत सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको जीवन बदल्नका लागि हो। सत्ता शक्तिको दुरुपयोग गर्न र प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्न होइन,’ उनले भनेका छन्।
आईजीपी हटाउने निर्णय गलत भएको दोहोर्याउँदै उनले थपेका छन्, ‘अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ। यो सुशासन होइन, शक्ति प्रदर्शन हो।’