नेप्सेमा १२.९५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा १२.९५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं ।बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सकारात्मक बनेको बजार यस दिन भने पुनः ओरालो लागेको हो। यस दिन नेप्से परिसूचक १२.९५ अंकले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.५७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले घटेका छन्।

नेप्सेसँगै शेयर कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार ७ अर्ब ४३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ३४९ कम्पनीका १ करोड २३ लाख ७३ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल ४४ हजार ४१२ पटक भएको कारोबारमा ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको हो।

यस दिन मूल्य बढेका शेयरको वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको १०.२५ प्रतिशत केबीएल डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.०९ प्रतिशतले घटेको छ। चिरख्वा हाइड्रोपावरको शेयरमूल्य पनि साढे ४ प्रतिशतले ओरालो लागेको छ। अन्य कम्पनीका शेयरमूल्यमा भएको गिरावट भने ४ प्रतिशतभन्दा कम छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको १८ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये बिहीबार लघुवित्त उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेका छन्। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ६६.१२ अंकले घटेको छ।