जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनीको अपराजित यात्रा कायमै

जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनीको अपराजित यात्रा कायमै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो।

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रनमात्र बनाउन सक्यो। जनकपुरका हरमीत सिंहले ३३, आदित्य महताले अविजित ३०, सैफ हसनले २८ र तृत राज दासले १८ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ लुम्बिनीका डार्सी शर्टले तीन विकेट लिए। शेर मल्ल र तिलक भण्डारीले दुई-दुई तथा रुबेन ट्रम्पलमनले एक विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो।

लुम्बिनीका रोहित पौडेलले सर्वाधिक ३४, निरोशन डिकवेलाले २७, दिलीप नाथले २५ र आसिफ शेखले २१ रनको योगदान दिए। रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए। जनकपुरका राहुल यादव र विशाल सुश्लिङले दुई–दुई विकेट लिए। हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक-एक विकेट झारे।

जितसँगै चार खेलबाट तीन जित र एक खेल वर्षाका कारण रद्द हुँदा प्राप्त एक अंकसहित कुल सात अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा यथावत् छ। यता, पाँच खेल खेलेको जनकपुरले दुई जित र तीन हार बेहोर्दै चार अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ।