

काठमाडौं । सरकारले गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको भन्दै दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आफ्नो कार्यकाल बाँकी रहँदै पदबाट हटाइएको भन्दै उनले पुनर्बहालीको मागसहित रिट दायर गर्ने तयारी गरेका हुन्।
कार्कीका कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। यद्यपि, रिट दर्ता भने भइसकेको छैन।
सरकारले बुधबार कार्कीलाई आईजीपी पदबाट हटाएर मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। नवनियुक्त आईजीपी केसीले बुधबार नै दर्ज्यानी चिह्न लगाएर पदभार ग्रहण गरिसकेका छन्।
सरकारले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। तर, आफ्नो कार्यकाल बाँकी रहँदै आईजीपीबाट हटाइएपछि कार्कीले त्यसविरुद्ध कानुनी उपचार खोज्ने बाटो रोजेका हुन्।
नवनियुक्त आईजीपी केसी र पदबाट हटाइएका कार्की एउटै ब्याचका प्रहरी अधिकारी हुन्।