काठमाडौँका विभिन्न क्षेत्रमा आजदेखि २० गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँका विभिन्न क्षेत्रमा आजदेखि २० गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कामका लागि आज कात्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँका विभिन्न स्थानमा दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान १०ः३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । त्यस्तै, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसन क्षेत्र, कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् अवरुद्ध हुनेछ ।

कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसन क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । यसैगरी, कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत यूएनपार्कदेखि बिजुली बजारसम्म, कात्तिक १८ गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

कात्तिक १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाज्मा पुल क्षेत्रमा र कात्तिक २० गते पुनः सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा बिहान १०ः३० देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।