

घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से झरना र गलेश्वरलगायतका पर्यटकीय स्थलमा बिहीबारदेखि पर्यटकको आगमन बढ्न थालेको स्थानीय व्यवसायीले बताएका छन्।
बेनी नगरपालिका–९, गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यले विजयादशमीको टीकापछि पर्यटकको आगमन बढेको बताए। असोजको दोस्रो सातामा कालीगण्डकीमा आएको बाढीका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा पर्यटक आगमन लगभग ठप्प भएको उनले जानकारी दिए।
“सडक मर्मतपछि मुस्ताङ जोड्ने मार्गमा यातायात सञ्चालन हुन थालेको छ। दसैँ र तिहारको बीचमा पर्यटकको आगमन बढ्ने र सुस्ताएको व्यापार व्यवसाय चलायमान हुने अपेक्षा गरेका छौँ,” उनले भने।
असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि पहिरो र कालीगण्डकीको बाढीका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड मर्मतपछि असोजको अन्तिम सातादेखि सञ्चालनमा आएको हो। विगतका तथ्याङ्कअनुसार असोज र कात्तिक म्याग्दीमा विदेशी पर्यटकको आगमन बढी हुने महिना हुन्।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानीका होटल व्यवसायी तथा अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकीमा आएको बाढीका कारण विगतका वर्षको तुलनामा विदेशी पर्यटकको आगमन घट्न सक्ने बताए। यद्यपि, दसैँ–तिहारको बिदामा पदयात्रा गर्न आउने आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको उनले बताए।
“घोडेपानी–पुनहिल–घान्द्रुक पदमार्ग सुरक्षित छ,” उनले भने, “बाढीपहिरोबाट क्षति पुगेका सडक र पदमार्ग मर्मत गरी यातायात सञ्चालन गर्न सकिने बनाइएको छ। त्यसैले पर्यटकको आगमन बढ्ने अपेक्षा गरेका छौँ।”
घोडेपानीबाट करिब ४५ मिनेट उकालो हिँडेपछि पुगिने पुनहिल समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा अवस्थित छ। सूर्योदय, हिमशृङ्खलाको दृश्यावलोकन र पदयात्राका लागि पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य मानिन्छ।
पदयात्रासँगै म्याग्दीका प्राकृतिक तातोपानी कुण्डमा पनि पर्यटकको चहलपहल बढ्न थालेको छ। बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्ड र अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ–तातोपानी कुण्ड पर्यटकका आकर्षक गन्तव्य हुन्।
म्याग्दी नदीको बाढीबाट क्षति पुगेको सिंगा तातोपानी कुण्ड मर्मतपछि असोजको अन्तिम सातादेखि सञ्चालनमा आएको छ।
अन्नपूर्ण चक्रीय पदमार्ग तथा मुस्ताङ आवतजावत गर्ने पर्यटकको थकान मेटाउने विश्रामस्थलका रूपमा विकसित भुरुङ–तातोपानी र पाउद्वार तातोपानी कुण्ड भने सुरक्षित रहेको बताइएको छ।
भुरुङ–तातोपानी कुण्डका सञ्चालक प्रितम पुर्जाले करिब एक महिनापछि पर्यटकको आगमन सुरु भएको बताए।
भुरुङ–तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दु पनि हो। म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको यो पदमार्ग विपद्बाट सुरक्षित रहेको छ।
भुरुङ–तातोपानीका होटल व्यवसायी काजी थापाका अनुसार बिहीबार करिब १५० जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए।
रुप्से झरना परिसरमा चियापसल सञ्चालन गर्दै आएकी छुमा पाइजाले पनि करिब एक महिनापछि पर्यटकको चहलपहल बढ्न थालेको बताइन्।
चितवनका रमेश पाण्डे दसैँको बिदा मनाउन मुस्ताङ भ्रमणमा आएका छन्। उनले बस, जिप र मोटरसाइकललगायतका सवारीसाधनमा म्याग्दी हुँदै मुस्ताङ जान सहज भएको बताए।
बाढीपहिरोबाट क्षति पुगेका सडक र पदमार्गको मर्मतसँगै पुनर्निर्माणलाई पनि तीव्रता दिन सके म्याग्दी र मुस्ताङको पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन सकिने अपेक्षा गरिएको छ।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले पर्यटकीय याम सुरु भएकाले सडक मर्मत गरी यातायातका साधन सहज रूपमा सञ्चालन हुने वातावरण बनाउन काम भइरहेको बताए।