

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटियो।
नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। आफ्नो सातौं खेल खेलिरहेका अर्जुनले प्रतियोगितामा पहिलो अर्धशतक पूरा गरेका हुन्। उनले ११२ बलमा चार चौका प्रहार गरे।
नेपालका आसिफ शेखले २०, इशान पाण्डेले २१ र कप्तान रोहित पौडेलले १८ रन बनाए। दीपेन्द्रसिंह ऐरीले २७ तथा गुलशन झाले २१ रनको योगदान दिए। करण केसी १७ रनमा अविजित रहे। बासिर अहमदले ६, सन्दीप लामिछानेले एक रन बनाए भने नन्दन यादव खाता नखोली आउट भए।
क्यानडाका लागि सुखजिन्दर सिंहले तीन विकेट लिए। कलीम साना र शील पटेलले समान दुई विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो। क्यानडाका युवराज सामराले शतकीय इनिङ खेल्दै १०५ रन बनाए। उनले ११७ बलमा ११ चौका र चार छक्का प्रहार गरे।
त्यस्तै, आरोन जोन्सनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समीत गोहेलले १७ रन बनाए।
नेपालका लागि ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। सन्दीप लामिछानेले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए। रोहित पौडेलले एक विकेट हात पारे।
यस हारसँगै नेपाल लिग टुको अंक तालिकामा सातौं स्थानमा झरेको छ भने क्यानडा छैटौं स्थानमा उक्लिएको छ। अब छैटौं स्थानमा रहेर लिग टु अन्त्य गर्ने सम्भावना कायम राख्न नेपालले दुई दिनपछि आयोजक ओमानलाई हराउनुपर्नेछ। त्यसैले ओमानविरुद्धको आगामी खेल नेपालका लागि महत्वपूर्ण बनेको छ।