सुधाकर दलेला नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त

सुधाकर दलेला नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त

काठमाडौं । भारतले वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ। उनी नेपालका लागि भारतको २७औँ राजदूत बनेका छन्।

दलेलाको नियुक्तिका लागि भारतले केही समयअघि नेपालको परराष्ट्र मन्त्रालयमा ‘नोट भर्बल’ पठाएको थियो। भारतीय विदेश मन्त्रालयले दलेला चाँडै राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आउने जनाएको छ।

दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए। उनले सन् २०२५ सेप्टेम्बर १ देखि उक्त जिम्मेवारी सम्हाल्दै आएका थिए।

सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले आफ्नो कूटनीतिक करिअर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए। त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका थिए।

उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए। यसअघि सन् २००९ देखि २०११ सम्म नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्री कार्यालयमा निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए।

नेपाल र भुटान मामिलाका जानकार दलेलाले भारतीय विदेश मन्त्रालयको उत्तर विभागमा सन् २००६ मा निर्देशक तथा सन् २०१६ देखि २०१९ सम्म सहसचिवका रूपमा काम गरेका थिए। उक्त विभागले नेपाल र भुटानसँग भारतको सम्बन्धसम्बन्धी विषय हेर्छ।

दलेलासँग व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा पनि लामो अनुभव छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका थिए। विश्व व्यापार संगठन (डब्लूटीओ) मा रहेको भारतको स्थायी नियोगमा दुईपटक जिम्मेवारी सम्हालेका उनले सन् २०१४ देखि २०१६ सम्म भारतका उपस्थायी प्रतिनिधिका रूपमा काम गरेका थिए।

त्यसैगरी, उनले सन् २०२० देखि २०२२ सम्म वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा उपप्रमुख (डेपुटी चिफ अफ मिसन) का रूपमा काम गरेका थिए।

भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिव रहँदा दलेलाले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका मुलुकसँगको विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषय हेर्दै आएका थिए।

उनी ब्रिक्स, आईबीएसए तथा भारत–इजरायल–यूएई–अमेरिका (आईटूयूटू) जस्ता बहुपक्षीय तथा अन्तर्राष्ट्रिय साझेदारीसम्बन्धी संयन्त्रमा भारतको प्रतिनिधित्वसमेत गर्छन्। कूटनीतिक सेवामा प्रवेश गर्नुअघि उनले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका थिए।

यसअघि नेपालका लागि भारतीय राजदूत रहेका नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएका छन्। सन् २०२२ जुनमा नेपालका लागि भारतको २६औँ राजदूत नियुक्त भएका श्रीवास्तवले सन् २०२६ अक्टोबर १ मा कार्यकाल पूरा गरेका थिए।