

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कमेडियन हिमेश पन्तबीच विवाद चर्किएको छ। दुवैले आज एकै दिन एकअर्काविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
जनआस्था साप्ताहिकले हालै पन्तको परिवारले अरूको जग्गा अनधिकृत रूपमा हडपेको आरोपसहित समाचार प्रकाशित गरेको थियो। उक्त समाचार भ्रामक, कपोलकल्पित र बदनियतपूर्ण रहेको पन्तको दाबी छ।
समाचारले आफ्नो व्यक्तिगत चरित्रहत्या गरेको, व्यावसायिक निष्ठामा आघात पुर्याएको र राजनीतिक जीवन ध्वस्त पार्ने दुराशय राखेको भन्दै पन्तले साइबर ब्युरोमा उजुरी दिएका हुन्।
पन्तको उजुरीपछि श्रेष्ठले पनि आजै साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन्। जनआस्था अनलाइनमा प्रकाशित समाचारलाई लिएर पत्रकारमाथि अश्लील गालीगलौज गर्दै फेसबुकमा आपत्तिजनक सामग्री पोस्ट गरिएको आरोप लगाउँदै उनले विद्युतीय कारोबार ऐनबमोजिम कारबाहीको माग गरेका छन्।
पन्तले आफ्नो फेसबुकमा श्रेष्ठलाई लक्षित गर्दै ‘ब्ल्याकमेलरले दसैँ राम्रै मनाउने भो’, ‘कति करोडको खेल हो फेरि’ र ‘मलाई पनि ब्ल्याकमेलिङ गर्ने हो क्या हो, गुहार गुहार सरकार’ जस्ता स्टाटस लेखेका थिए।
जनआस्थाले हिजो आफ्नो अनलाइन पोर्टल र फेसबुक पेजमा ‘हिमेश, अरूको सम्पत्ति हडप्नेले कस्तो सुशासन सिकाउने ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।
उक्त समाचारमा धादिङको थाक्रे गाउँपालिका–१० का तिलकप्रसाद बिडारीले हिमेशका बुबा सुब्बा पन्तसँग खरिद गरेको साढे चार रोपनी जग्गा राजनीतिक पहुँचका आधारमा भोगचलन गर्नबाट वञ्चित गरिएको आरोप उल्लेख छ।
यस विषयमा पन्तले आजै फेसबुकमार्फत लामो स्पष्टीकरण दिँदै उक्त जग्गा आफ्नो बुबाले बिक्री नगरेको, बन्धकीमा मात्र राखेको दाबी गरेका छन्।
जग्गासम्बन्धी विवादमा दुवै पक्षका फरक दाबी सार्वजनिक भएका छन्। यस विषयमा सम्बन्धित निकायबाट हुने छानबिन तथा कानुनी प्रक्रियाबाट थप तथ्य स्पष्ट हुनेछन्।