

कैलाली । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले उक्त निर्णय गरेको हो। बैठकले विश्वविद्यालयमा नर्सिङ अध्ययनका लागि २० सिटसमेत निर्धारण गरेको छ।
त्यसैगरी, बैठकले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फको सिट सङ्ख्या बढाएर १३० पुर्याउने निर्णय गरेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ मा भएका व्यवस्था, चिकित्सा शिक्षा आयोगबाट स्वीकृत कार्यक्रमगत न्यूनतम तथा प्रत्यायन मापदण्ड र शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कनका आधारमा सिट निर्धारण गरिएको जनाइएको छ।
त्यस्तै, चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारणसम्बन्धी एकीकृत कार्यविधि, २०८३ र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम शैक्षिक कार्यक्रम सञ्चालनका लागि सिट सङ्ख्या निर्धारण गरिएको हो।