

काठमाडौं । वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा राष्ट्रिय धार्मिक र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुने ‘मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा २०८३’ को विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छ।
आगामी कात्तिक ८ देखि ३० गतेसम्म सञ्चालन हुने रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिक स्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामको परिक्रमा गर्दै नेपाली समाजलाई धार्मिक तथा सांस्कृतिक एकताको सूत्रमा जोड्ने लक्ष्य राखेको छ।
मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) को सत्संकल्पअनुसार आयोजना हुँदै आएको रथयात्राले मुक्तिनाथ, पवित्र कालीगण्डकी तथा समग्र मुक्तिक्षेत्रको धार्मिक महिमा देशविदेशमा फैलाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यका अनुसार रथयात्राले तीर्थस्थलबीचको सम्बन्ध विस्तार, सनातन संस्कृतिको संरक्षण तथा आध्यात्मिक जागरणमा महत्वपूर्ण भूमिका खेल्नेछ। यसले विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावनालाई थप बलियो बनाउने उनको भनाइ छ।
आयोजकले सार्वजनिक गरेको कार्यतालिकाअनुसार रथयात्रा हरेक दिन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ। निर्धारित मार्गमा पर्ने धार्मिक स्थल तथा तीर्थधाममा रथयात्रा पुग्ने भएकाले स्थानीय श्रद्धालुले दर्शन, पूजाअर्चना तथा धार्मिक कार्यक्रममा सहभागी हुने अवसर पाउनेछन्।
कात्तिक ८ गते : मुक्तिनाथबाट सुरु हुने रथयात्रा जोमसोम र गलेश्वर हुँदै बेनीको कुन्डुलेफेदी पुगेर रात्री विश्राम गर्नेछ।
कात्तिक ९ गते : पञ्चकोट, बागलुङ बजार, मालढुंगा, कुश्मा, नौडाँडा र हेमजाको मार्ग हुँदै पोखरा नगर परिक्रमा गरी रामघाटस्थित श्रीमुक्तिनाथ सनातन सेवाश्रममा विश्राम गरिनेछ।
कात्तिक १० गते : पोखराबाट दमौली, डुम्रे, मुग्लिन, धादिङ, थानकोट, कलंकी, स्वयम्भू, बालाजु र चक्रपथ हुँदै गोल्फुटारस्थित श्रीमुक्तिनाथ बाबा सेवाश्रम पुगेर रथयात्रा विश्राम गर्नेछ।
कात्तिक ११ गते : काठमाडौं नगर परिक्रमा गरी भक्तपुरस्थित श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाममा रात्री विश्राम गरिनेछ।
कात्तिक १२ गते : भक्तपुरबाट साँगा, बनेपा, धुलिखेल, भकुण्डेबेसी र खुर्कोट हुँदै सिन्धुली पुग्ने कार्यक्रम छ।
कात्तिक १३ गते : सिन्धुली, भीमान, कटारी, गाईघाट र वराहक्षेत्र हुँदै चतराधामस्थित श्रीमुक्तिनाथ मन्दिरमा रात्री विश्राम गरिनेछ।
कात्तिक १४ गते : चतराबाट धरान, इटहरी, विराटचोक, बेलबारी, लेटाङ, पथरी, उर्लाबारी र दमक हुँदै झापाको गौशालामा विश्राम हुनेछ।
कात्तिक १५ गते : गोवर्धन गौशाला, किल्किले, लालमखोला, माईधार, बिर्तामोड, अर्जुनधारा, बुधबारे, चारआली, भद्रपुर र काकडभिट्टा हुँदै माईधारस्थित श्रीयोगिराज कमलनयनाचार्य आश्रममा रात्री विश्राम गरिनेछ।
कात्तिक १६ गते : माईधारबाट रङ्गेली हुँदै विराटनगर परिक्रमा गरी पाञ्चालीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम हुनेछ।
कात्तिक १७ गते : विराटनगर, दुहबी, इटहरी, लहान र धनुषा हुँदै जनकपुरधाम पुगेर रात्री विश्राम गरिनेछ।
कात्तिक १८ गते : जनकपुरधाम परिक्रमा गरी ढल्केवर, बडहरी, लालबन्दी, बर्दिवास, नवलपुर, हरिवन, चन्द्रनिगाहपुर, निजगढ र पथलैया हुँदै सिमरामा विश्राम हुनेछ।
कात्तिक १९ गते : सिमरा, पथलैया र अमलेखगञ्ज हुँदै हेटौँडा नगर परिक्रमा गरी चिसापानीस्थित श्रीकस्तुरी रङ्गनाथ मन्दिरमा रात्री विश्राम गरिनेछ।
कात्तिक २० गते : हेटौँडाबाट मनहरी, बसन्तपुर, भण्डारा, पर्सा र टाँडी हुँदै भरतपुर महानगरपालिका परिक्रमा गरी लङ्कुमा विश्राम हुनेछ।
कात्तिक २१ गते : नारायणगढ, गैँडाकोट, भेडाबारी, फुलवास, रजहर, दलदले, प्रगतिनगर, कावासोती, डण्डा, चोरमारा, अरुणखोला, दुम्कीवास र बर्दघाट हुँदै श्रीलक्षेश्वर शिवालयमा रात्री विश्राम गरिनेछ।
कात्तिक २२ गते : बर्दघाट, भुताहा, भूमही, सुनवल र बुटवल हुँदै रुपन्देहीको रेसेन्डुपुरस्थित श्रीबालहंस साङ्गवेद स्वर्गद्वारी आश्रम पुग्ने कार्यक्रम छ।
कात्तिक २३ गते : खरेन्द्रपुर, चन्द्रौटा, मालुवाङ, लमही र कोहलपुर हुँदै नेपालगञ्ज पुगेर रात्री विश्राम गरिनेछ।
कात्तिक २४ गते : नेपालगञ्जबाट टीकापुर हुँदै लम्कीचुहा क्षेत्रमा विश्राम हुनेछ।
कात्तिक २५ गते : लम्कीचुहाबाट पुनर्वास हुँदै महेन्द्रनगरस्थित श्रीराधाकृष्ण मन्दिरमा रात्री विश्राम गरिनेछ।
कात्तिक २६ गते : महेन्द्रनगर, भलारी र अत्तरिया हुँदै धनगढीस्थित श्रीलक्ष्मीनारायण मन्दिर पुग्ने कार्यक्रम छ।
कात्तिक २७ गते : धनगढी, हसुलिया, राजापुर र गुलरिया हुँदै कोहलपुरस्थित श्रीरामजानकी मन्दिरमा रात्री विश्राम गरिनेछ।
कात्तिक २८ गते : कोहलपुरबाट सुर्खेत हुँदै तुलसीपुरस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम हुनेछ।
कात्तिक २९ गते : तुलसीपुर, घोराही, लमही, गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुगेर रात्री विश्राम गरिनेछ।
कात्तिक ३० गते : भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा रथयात्राको विश्राम तथा समापन गरिनेछ।
रथयात्रा समापनपछि त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा मंसिर १ देखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने आयोजकले जनाएको छ। रथयात्रा तथा महायज्ञमार्फत धार्मिक आस्था, सांस्कृतिक सम्पदा र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।