बडादशैंको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको पूजा गरिँदै

बडादशैंको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको पूजा गरिँदै

काठमाडौं । बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज घरघरमा फूलपाती भित्र्याइँदै छ। यसै दिन नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा–आराधना गर्ने धार्मिक परम्परा छ।

वैदिक सनातन धर्मावलम्बीले दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको पूजा गर्छन्। पौराणिक मान्यताअनुसार काललाई समेत नष्ट गर्न सक्ने भगवतीको स्वरूपलाई कालरात्रि भनिन्छ। कृष्ण वर्ण र भयङ्कर आकृति भएकी यी देवीलाई प्राणीको विनाश गर्ने शक्तिका रूपमा विभिन्न पौराणिक ग्रन्थमा वर्णन गरिएको छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। यस अवसरमा देवीको आराधना गरी पूजा गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही मान्यताका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा–आराधना गर्छन्।

नवरात्रका नौ दिन पूजा–आराधना गरेपछि प्राप्त प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने चलन छ। यसरी नेपालीले १५ दिनसम्म बडादशैं पर्व मनाउँछन्।

नवरात्रको अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजा–आराधना र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानका शक्तिपीठ र देवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको चहलपहल बढेको छ।

टुँडिखेलमा फूलपाती बढाइँ समारोह

बडादशैंको सातौँ दिन आज नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँको विशेष समारोह आयोजना गर्दैछ। धर्म, संस्कृति र परम्पराको निरन्तरतासँग जोडिएको फूलपाती बढाइँलाई नेपाली मौलिकता झल्काउने विशिष्ट समारोहका रूपमा लिइन्छ। कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ।

गोरखाबाट हनुमानढोका पठाइँदै फूलपातीको डोली

आजै गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइँदै छ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैंघरबाट फूलपातीसहितको डोली हनुमानढोका पुर्‍याएर भित्र्याउने परम्परा चल्दै आएको छ।

परम्पराअनुसार गोरखा दरबारको दशैंघरबाट फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर सतिपिपलस्थित फूलपाती चौतारासम्म ल्याउँछन्। त्यसपछि त्यहाँबाट फूलपातीसहितको डोली काठमाडौंस्थित हनुमानढोका दरबार पठाइन्छ।