चिकित्सा शिक्षामा ४१८ सिट थपिए, कुल सङ्ख्या ९ हजार ६९९ पुग्यो

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, कुल सङ्ख्या ९ हजार ६९९ पुग्यो

काठमाडौं । चिकित्सा शिक्षामा यस शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ। सिट वृद्धि भएसँगै चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा कुल सिट सङ्ख्या ९ हजार ६९९ पुगेको छ।

चिकित्सा शिक्षा आयोगको बैठकले यस शैक्षिक सत्रका लागि सिट सङ्ख्या बढाउने निर्णय गरेको हो। सिट निर्धारणका लागि शिक्षण संस्थाबाट स्वमूल्याङ्कन फाराम भराई आवश्यक सिट सङ्ख्याको माग सङ्कलन गरिएको थियो। त्यसपछि ९० वटा शिक्षण संस्थामा विज्ञ टोलीले अनुगमन गरेको थियो।

अनुगमन प्रतिवेदनका आधारमा ८४ वटा संस्थामा सिट निर्धारण गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।

यस वर्ष एमबीबीएसतर्फ ११० सिट थप गरिएको छ। थपिएका सिटमध्ये कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ५० सिट पाएको छ। त्यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप गरिएको छ।

यसैगरी, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ सिट थप गरिएको छ। एमबीबीएसमा वृद्धि गरिएका सबै सिट सरकारी शिक्षण संस्थाका हुन्। यसपटक निजी मेडिकल कलेजहरूको सिट सङ्ख्या भने यथावत् राखिएको छ।