विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडौँ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधिबाट सम्मान गरिएको छ। साहित्य तथा संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै किर्गिस्तानस्थित आईएलपीएमएस विश्वविद्यालयले उनलाई मानार्थ ‘डाक्टर अफ ह्युमन लेटर्स (डीएचएल)’ उपाधिबाट सम्मान गरेको हो।

भारतको राजस्थानस्थित इन्टरनेसनल सेन्टर, जयपुरमा आयोजित विशेष समारोहमा विश्वविद्यालयका प्रतिनिधि तथा अन्य विशिष्ट अतिथिले डा. उपाध्यायलाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका थिए।

समारोहका प्रमुख अतिथि राजस्थानका उपमुख्यमन्त्री डा. प्रेम चन्द बैरवा थिए। कार्यक्रममा राजस्थान विधानसभाका सभामुख वासुदेव देवनानी, राजस्थान विधानसभाका पूर्व सदस्य अशोक परनामी, सदस्य बालमुकुन्दाचार्य, राज्यमन्त्री श्रीमती एकता अग्रवाल, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड्सका ब्रान्ड एम्बेसेडर डा. राम सिंह चौहान तथा पद्मश्री पुरस्कार विजेता वरिष्ठ चिकित्सक एवं मुटुरोग विशेषज्ञ डा. एम. वलीलगायतको उपस्थिति थियो।

विश्वविद्यालयले प्रदान गरेको प्रमाणपत्र तथा सम्मानपत्रमा साहित्य र संगीत क्षेत्रमा डा. उपाध्यायले पुर्‍याएको योगदान, उपलब्धि, समर्पण तथा समाजमा पारेको प्रभावको प्रशंसा गरिएको छ। समारोहमा प्रदान गरिएको स्मृतिचिह्नमा पनि साहित्य तथा संगीत क्षेत्रमा उनको उत्कृष्ट योगदान र विशिष्ट उपलब्धिका लागि सम्मान गरिएको उल्लेख छ।

डा. उपाध्यायले समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका हुन्। यसअघि अमेरिका लगायत विभिन्न देशका नौवटा विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधिबाट सम्मान गरिसकेका थिए। आईएलपीएमएस विश्वविद्यालयबाट प्राप्त उपाधि उनको दशौँ मानार्थ विद्यावारिधि भएको जनाइएको छ।

गीतसंगीत तथा साहित्यका विभिन्न विधामा सक्रिय डा. उपाध्यायले हालसम्म १५३ वटा विश्व कीर्तिमान कायम गरेको जनाइएको छ। उनका १७ भन्दा बढी उपन्यास, तीन गीति पुस्तक तथा ३६ वटा एल्बम प्रकाशित तथा सार्वजनिक भइसकेका छन्। उनका करिब २५० गीत सार्वजनिक भएका छन् भने सयौँ गीतका भिडियोसमेत निर्माण भएका छन्।

उनका पछिल्ला साहित्यिक कृतिमा उपन्यास ‘आशक्ति’ र कवितासंग्रह ‘अन्तसंस्करण’ रहेका छन्। यसैगरी उनका ‘श्रीराम’ र ‘हरे कृष्ण’ भजनसमेत हालै सार्वजनिक भएका छन्।