भूगोल साहित्य समाजको वार्षिकोत्सव तथा सातौँ वार्षिक साधारणसभा सम्पन्न  

भूगोल साहित्य समाजको वार्षिकोत्सव तथा सातौँ वार्षिक साधारणसभा सम्पन्न  
काठमाडाैं । भूगोल साहित्य समाज, काठमाडौको वार्षिकोत्सव तथा सातौँ वार्षिक साधारणसभा वरिष्ठ गजलकार रामबहादुर पहाडीको प्रमुख आतिथ्यमा असोज ६ गते सम्पन्न भएको छ ।
भोटेकोशी बाढीका कारण सिङ्गो मुलुक शोकमा रहेको अवस्थामा वार्षिकोत्सव कार्यक्रम बिना कुनै विशेष आयोजन सामान्य एवम् औपचारिकतामै सीमित गरिएको थियो । आज सम्पन्न कार्यक्रमको प्रथम चरणमा भाद्र १० गतेको विपत्तिमा ज्यान गुमाउनेहरूका प्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै एक मिनेट मौन धारण गरिएको थियो ।
समाजद्वारा विगत चार वर्षदेखि  वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आइएको  झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार पनि यसपटक प्रदान गरिएन ।  प्र्रत्येक वर्ष प्रदान गर्ने गरी २०७९ सालमा स्थापित सो पुरस्कार पहिलो वर्ष देविचन्द्र श्रेष्ठ,  दोस्रो वर्ष रामबहादुर पहाडी, तेस्रो वर्ष हिरण्यकुमारी पाठक  र चौथो वर्ष सृजन लम्साललाई प्रदान गरिएको थियो । समाजका आजीवन सदस्य ओम आचार्यले स्थापना गर्नुभएको सो पुरस्कार रु.२५०२५।– नगद राशी तथा सम्मानपत्र सहित प्रदान गरिन्छ । सो पुरस्कार आगामी वर्ष दुई वर्षको लागि एक साथ दुईजनालाई प्रदान गरिने  छ ।
कार्यक्रममा मानार्थ सदस्यहरू सुशील श्रेष्ठ, र उद्धव खनाल तथा आजीवन सदस्यहरू नवराज भट्ट, महेशराज खरेल तथा नरराज आचार्यले आआफ्नो मन्तव्य राख्नुभएको थियो । वक्ताहरूले समाजको स्थापनाले समाज सम्बद्ध सबैमा साहित्य प्रति अभिरुचि बढाएको भन्दै समाजका क्रियाकलापको प्रशंसा गर्नुभयो । कार्यक्रममा समाजका नयाँ सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री पहाडीले समाजका साहित्यिक क्रियाकलापको प्रशंसा गर्नुभयो भने आगामी दिनमा पनि समाजले अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको थियो ।
दोस्रो सत्रमा आयोजित साधारणसभाले कोषाध्यक्ष हरिश्चन्द्र गौतमले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२÷८३को आर्थिक प्रतिवेदन तथा सचिव शैलेन्द्रकुमार शाहद्वारा प्रस्तुत सोही आर्थिक वर्षको साङ्गठनिक प्रतिवेदन पारित गर्नुका साथै आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा निम्नानुसारको नयाँ कार्यसमिति गठन गरेको छ :
अध्यक्ष : विनोद नेपाल,
उपाध्यक्ष : दिनेश विक्रम थापा
सचिव : शैलेन्द्रकुमार शाह
कोषाध्यक्ष : हरिश्चन्द्र गौतम
सदस्यहरू :
ओम प्रकाश आचार्य
मुकुन्द अर्याल
गीता निरौला भण्डारी
कालीचरण वस्नेत
नरराज आचार्य
उपाध्यक्ष दिनेश विक्रम थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम सचिव शैलेन्द्रकुमार शाहले सञ्चालन गर्नुभएको थियो । स्मरणीय छ, भूगोल साहित्य समाज राष्ट्रिय वाणिज्य बैँकबाट निवृत्त स्रष्टाहरूद्वारा स्थापित साहित्यिक संस्था हो र यसको स्थापना र दर्ता २०७६ सालमा भएको हो । कार्यक्रम समाजको सभाकक्ष दरबारमार्गमा आयोजना गरिएको थियो ।