

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकलाई मर्यादित र व्यवस्थित बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।
पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभामुख अर्यालले सभाको गरिमा कायम राख्दै बैठक सञ्चालनमा सहयोग गर्न सबै सांसदको ध्यानाकर्षण गराएका हुन्। हरेक दिनको बैठकलाई मर्यादित र उत्कृष्ट बनाउनु सबैको कर्तव्य तथा दायित्व भएको उनले बताए।
सभामुख अर्यालले सबै सदस्यको पहलमा प्रतिनिधिसभा नियमावली, २०८० लागू भएको स्मरण गराउँदै सोही नियमावलीअनुसार सभा सञ्चालन भइरहेको बताए।
‘यसैअन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौँ। म सबै माननीय सदस्यहरूलाई प्रतिनिधिसभा नियमावलीको नियम २० र नियम २१, त्यसमा पनि नियम २० को खण्ड “ट” प्रति यहाँहरूको ध्यानाकर्षण गराउँदछु,’ उनले भने।
सभामुखको निर्देशनपछि आजको प्रतिनिधिसभा बैठक सकिएको छ। अर्को बैठक भोलि बिहान ११ बजे बस्ने जानकारी गराइएको छ।