एमाले केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी

एमाले केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ। बैठक बिहान ९ बजेदेखि सुरु हुने एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

आचार्यका अनुसार मंगलबारको बैठकमा ११८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। १६ जना केन्द्रीय सदस्य भने बैठकमा अनुपस्थित रहेका छन्।

आज बाँकी केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलगायत समसामयिक विषयमा आफ्ना धारणा राख्ने आचार्यले बताए।

केन्द्रीय सदस्यहरूको धारणा सकिएपछि सचिवालय बैठक बस्ने तयारी रहेको छ। सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक सम्पन्न हुने उनले जानकारी दिए।

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ गतेदेखि ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा सुरु भएको हो। पूर्वनिर्धारित कार्यतालिकाअनुसार बैठक असोज ७ गते सम्पन्न गर्ने तयारी गरिएको छ।