भोटेकोशी बाढीपीडित बालबालिकाका लागि घले दम्पतीको ५७ करोड ८५ लाख सहयोग

भोटेकोशी बाढीपीडित बालबालिकाका लागि घले दम्पतीको ५७ करोड ८५ लाख सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नीले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँसम्म दीर्घकालीन सहयोग गर्ने भएका छन्।

घलेले सामाजिक सञ्जालमार्फत आफ्नो संस्था एमआईटी ग्रुप फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग गरेको समझदारी (एमओयू) अनुसार उक्त रकम खर्च गरिने जानकारी दिएका हुन्।

फाउन्डेसनले बाढीबाट प्रभावित १८ वर्षमुनिका बालबालिकालाई कक्षा १२ सम्म सहयोग गर्ने जनाएको छ। सहयोगअन्तर्गत बालबालिकाको अवस्थाअनुसार शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचारलगायत आधारभूत आवश्यकता पूरा गर्न खर्च गरिनेछ।

घलेका अनुसार बाढीको पानी घटेपछि पनि प्रभावित बालबालिकाको समस्या समाप्त हुने छैन। बाढीका कारण कतिपय बालबालिकाको जीवनमा गम्भीर परिवर्तन आएको उल्लेख गर्दै उनले आफू र पत्नीले उनीहरू तथा परिवारले भोगेको अवस्थाबाट प्रभावित भएको बताएका छन्।

‘हामी भाग्यमानी महसुस गर्छौं कि कठिन समयमा मात्रै होइन, आगामी वर्षहरूमा पनि उनीहरूलाई सहयोग गर्न सक्छौँ, ताकि उनीहरूले आफ्नो शिक्षा निरन्तरता दिन सकून्, आधारभूत आवश्यकता पूरा होस् र भविष्यलाई आशाका साथ हेर्न सकून्,’ घलेले भनेका छन्।

उनले यो सहयोग रकममा मात्र सीमित नभएको बताएका छन्। बालबालिका हुर्कंदै जाँदा दीर्घकालीन रूपमा साथ दिने र उनीहरूले भोगेको कठिनाइले भविष्यमा पाउने अवसरलाई प्रभावित नगरोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ। ‘सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूलाई आफूहरूलाई बिर्सिएको छैन भन्ने महसुस गराउन चाहन्छौँ,’ घलेले भनेका छन्।