

काठमाडौँ । भोटेकोसी बाढीपछि बेपत्ता भएका बागलुङका इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान १६ दिनसम्म फेला नपरेपछि परिवारले बिहीबार हिन्दु परम्पराअनुसार कुशको शव बनाएर चारै जनाको अन्तिम संस्कार गरेका छन्।
त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९, तित्याङका ३३ वर्षीय इन्जिनियर राजेश शर्मा पौडेल, उनकी ३१ वर्षीया पत्नी प्रमिला पाठक तथा उनीहरूका ४ वर्षीय छोरा आदित्य र २ वर्षीया छोरी अदिति बाढीपछि बेपत्ता भएका थिए।
लामो समयसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि परिवारले हिन्दु संस्कारअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको आफन्त विष्णु शर्माले जानकारी दिए।
राजेश पौडेल परिवारका एकमात्र छोरा रहेको पनि आफन्त शर्माले बताएका छन्।
यसैबीच, त्रिशूली हाइड्रोपावरमा कार्यरत बागलुङका १६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता हुनेमा तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली–३ बी आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चार जना छन्।