

सियोल । दक्षिण कोरियामा ज्येष्ठ नागरिकको हेरचाह गर्ने जनशक्तिको अभाव बढ्दै गएपछि सरकारले विदेशी विद्यार्थीलाई समेत केयरगिभर तालिम दिन थालेको छ। सरकारी तथ्याङ्कअनुसार सन् २०२८ सम्ममा दक्षिण कोरियामा करिब १ लाख १६ हजार केयरगिभर अभाव हुने अनुमान छ। स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०४३ सम्ममा भने थप ९ लाख ९० हजार हेरचाहकर्ता आवश्यक पर्नेछ।
तीव्र गतिमा बढिरहेको वृद्ध जनसङ्ख्याका कारण हेरचाह सेवाका लागि आवश्यक जनशक्ति जुटाउनु दक्षिण कोरियाका लागि चुनौती बनेको छ। यही समस्या समाधान गर्न विदेशी बासिन्दा तथा विद्यार्थीलाई यस क्षेत्रमा आकर्षित गर्ने नीति अघि सारिएको हो।
‘कोरिया हेराल्ड’ का अनुसार ग्योङ्गी प्रान्तको याङजुस्थित सियोजोङ विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीलाई केयरगिभरसम्बन्धी तालिम दिइएको छ। तालिममा बिरामी तथा ज्येष्ठ नागरिकलाई सुरक्षित रूपमा उठाउने, सार्ने लगायतका व्यावहारिक अभ्यास गराइन्छ।
कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियनसँग आबद्ध हेरचाहकर्ताहरूको सङ्घका अनुसार करिब २३ लाख मानिसले केयरगिभरको योग्यता हासिल गरेका छन्। तर उनीहरूमध्ये ठूलो सङ्ख्या यसै पेसामा कार्यरत छैनन्।
श्रम विज्ञहरूले केयरगिभर अभावको कारण दक्ष जनशक्ति नहुनु मात्र नभई कम पारिश्रमिक, कमजोर कार्य वातावरण र पर्याप्त सेवा–सुविधा नहुनु पनि रहेको बताएका छन्।
विज्ञहरूका अनुसार विदेशी कामदार र विद्यार्थीलाई आकर्षित गर्नु तत्कालीन विकल्प भए पनि हेरचाह क्षेत्रको कामको अवस्था तथा सेवा–सुविधामा सुधार नगरी विदेशी जनशक्ति भित्र्याएर मात्र समस्या समाधान गर्न कठिन हुनेछ।