१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार

१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको १० दिनपछि सकुशल उद्धार गरिएको छ।

रास्वपाका सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपानेले सुरुङबाट दुई जनाको जीवितै उद्धार भएको जानकारी दिएका हुन्। उद्धार गरिएका सञ्जय साह मेकानिकल फोरम्यान र कविर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा आयोजनामा कार्यरत थिए।

नेपाली सेनाले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र फसेकाको संयुक्त खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ।

सेनाका अनुसार उद्धार टोलीले सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेको छ। सुरुङभित्र अझै अन्य व्यक्तिको अवस्था पत्ता लगाउन थप खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।