एसीसी प्रिमियर कप: लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनल नजिक

एसीसी प्रिमियर कप: लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनल नजिक

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। बिहीबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको हो। यूकेएम-वाईएसडी ओभलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ४५ रन बनाए। उनले ६८ बलमा चार चौका प्रहार गरे। इशान पाण्डेले २०, रोहितकुमार पौडेलले १० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रनको योगदान दिए।

अर्जुन र इशानबीच तेस्रो विकेटका लागि ५७ रनको साझेदारी भएको थियो। मलेसियाका वीरनदीप सिंह, प्रशान्त मधुकर, आरिफ उल्लाह र कप्तान सैयद अजिजले एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको थियो। मलेसियाका लागि कप्तान सैयद अजिजले ३०, अकिल वाहिदले २४, वीरनदीप सिंहले १४ र मोहम्मद स्याहदत रमीलले १३ रन बनाए।

नेपालका लागि करण केसीले चार विकेट लिए। ललितनारायण राजवंशीले दुई विकेट लिँदा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले एक-एक विकेट हात पारे। जितसँगै नेपालले दुई खेलबाट चार अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा आफ्नो स्थान बलियो बनाएको छ। पहिलो हार व्यहोरेको मलेसिया दुई खेलबाट दुई अंकसहित दोस्रो स्थानमा छ।

नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो। मलेसियाले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई ९३ रनले पराजित गरेको थियो। नेपालले अब आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ।