

काठमाडौं । बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेका परिवारलाई प्रहरीले डीएनए परीक्षणका लागि नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
प्रहरीका अनुसार हाल फेला परेका शव तथा शरीरका अंग आफन्तको हो कि होइन भन्ने यकिन गर्न डीएनए परीक्षण गर्न सकिनेछ। त्यसका लागि रगतको नाता पर्ने व्यक्तिको रगतको नमुनासहित महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
डीएनए परीक्षणका लागि रगतको नमुना दिने व्यक्तिको दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्ने प्रहरीले जनाएको छ।
बेपत्ता व्यक्तिका आफन्त विदेशमा रहेको अवस्थामा भने बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको विदेशमै डीएनए प्रोफाइलिङ गराउन सकिनेछ। विदेशमा गरिएको डीएनए प्रोफाइलिङको सफ्टकपी dnacodis@nepalpolice.gov.np मा पठाउन प्रहरीले अनुरोध गरेको छ।
बाढीमा परी मृत्यु भएका ९०० भन्दा बढीको शव फेला परिसकेको र ४ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको अवस्थामा पहिचानका लागि डीएनए परीक्षणलाई प्रभावकारी माध्यमका रूपमा अघि बढाइएको हो।