

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित महिला तथा किशोरीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’ तथा मनोसामाजिक परामर्श प्रदान गर्न थालिएको छ।
भदौ १० गते भोटेकोशीसहित त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान जोगाएका महिला तथा किशोरीलाई संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपिए)को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले आवश्यक सामग्री वितरण गरिरहेका छन्।
आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य परियोजनाअन्तर्गत घरबार तथा आफन्त गुमाएका महिलालाई ‘डिग्निटी कीट’, किशोरीलाई ‘किशोरी कीट’ तथा प्रभावित परिवारलाई तारपोलिन वितरण भइरहेको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी अत्यावश्यक स्वास्थ्य सेवा, यौन तथा प्रजनन स्वास्थ्य सेवा र मनोसामाजिक परामर्शसमेत उपलब्ध गराउन थालिएको छ।
युएनएफपिएका अनुसार हालसम्म २ हजार डिग्निटी कीट, ४ सय किशोरी कीट र ३ हजार तारपोलिन वितरण भइसकेको छ। नुवाकोटका विभिन्न अस्थायी आश्रयस्थलमा रहेका महिला तथा किशोरीको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको जनाइएको छ।
ककनी–स्पाङ क्षेत्रका अस्थायी आश्रयस्थल, त्रिभुवन माध्यमिक विद्यालय, विदुर, बट्टारस्थित तामाङ प्लाजा तथा सामुदायिक बहुउद्देश्यीय भवनलगायत स्थानमा रहेका प्रभावित महिला तथा किशोरीलाई डिग्निटी कीट वितरण गरिएको छ।
नेपाल रेडक्रसका अनुसार धादिङ र रसुवाका बाढी प्रभावित महिला तथा किशोरीका लागि समेत डिग्निटी कीट वितरण गर्ने तयारी भइरहेको छ।