

काठमाडौं । नेपालले भोटेकोशी बाढीमा प्रभावित तथा मृतकको पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा बाढीपीडितको पहिचानका लागि आवश्यक प्राविधिक सहयोग तथा उपकरण उपलब्ध गराउन सिंगापुरसँग अनुरोध गरिएको जानकारी दिए।
उनका अनुसार नेपालले संयुक्त राज्य अमेरिकासँग डीएनए परीक्षणका लागि सहयोग मागेको छ भने चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण उपलब्ध गराउन आग्रह गरेको छ। जापान र दक्षिण कोरियाबाट समेत थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको उनले बताए।
अहिलेसम्म भारत, चीन, फ्रान्स, अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरियालगायत देश तथा अन्य साझेदारबाट उद्धार तथा राहत सामग्री प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र युनिसेफबाट पनि थप सामग्री तथा सहयोग आउने क्रममा रहेको क्षेत्रीले बताए।
विदेशबाट प्राप्त सहयोगमा उद्धार उपकरण, फ्रिजर, सौर्य बत्ती, परीक्षण किट, चेन, कम्बल, स्लीपिङ ब्याग, खाद्यान्न तथा औषधिलगायत सामग्री रहेका छन्।