

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरोपीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक बासना थापाले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र पुनःस्थापनामा सहयोग पुर्याउन सांसदहरूको आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिइन्।
बैठकमा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएका नेता तथा सांसदहरूले त्यहाँको अवस्थाबारे जानकारी गराएका थिए। बैठकले विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ।
कांग्रेसले संसद्को अधिवेशन तत्काल सञ्चालन गर्नुपर्नेमा समेत जोड दिएको छ। प्रमुख सचेतक थापाका अनुसार संसद्मार्फत जनताका समस्या सरकारसमक्ष पुर्याउन तथा बेपत्ता व्यक्तिको खोजीका लागि जिल्ला–जिल्लाबाट सूचना संकलन गर्न सहज हुने भएकाले सदन सञ्चालन आवश्यक रहेको हो। यस विषयमा सभामुखसँग छलफल गर्ने उनले बताइन्।
स्थलगत अनुगमनमा जाने सांसदलाई उद्धार कार्यमा बाधा नपुग्ने गरी, भीडभाड नगरी र आवश्यक समन्वय गरेर मात्रै प्रभावित क्षेत्रमा जान कांग्रेसले निर्देशन दिएको छ।
राहत वितरणबारे थापाले राहत संकलनमा एकद्वार प्रणाली प्रभावकारी देखिए पनि वितरणमा समस्या रहेको बताइन्। क्षतिको वास्तविक विवरण र कुन परिवारलाई कस्तो सहयोग आवश्यक छ भन्ने जानकारी स्थानीय तहसँग हुने भएकाले राहत वितरण तथा तथ्यांक संकलनको जिम्मेवारी स्थानीय र प्रदेश सरकारलाई दिनुपर्ने उनको भनाइ छ।