

काठमाडौं । नेपाली कांग्रेसले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम नागरिकलाई स्पष्ट जानकारी गराउन संसद्को बैठक तत्काल आह्वान गर्नुपर्ने निष्कर्ष निकालेको छ।
सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् सञ्चालनका विषयमा सभामुखसँग छिटोभन्दा छिटो छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।
उनका अनुसार जिल्ला तथा गाउँ–गाउँमा रहेका बेपत्ताका घटनाबारे सांसदमार्फत संसद्मा जानकारी गराउन र उद्धार तथा व्यवस्थापनका उपाय पहिचान गर्न संसद् सञ्चालन आवश्यक छ।
बैठकले राहत कार्यमा सहयोग पुर्याउन कांग्रेसका सबै सांसदले आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ। साथै, अत्यावश्यक पूर्वाधारको तत्काल पुनर्निर्माण गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारसँग आग्रह गरिएको छ।
कांग्रेस सचेतक निष्कल राईले वास्तविक पीडित तथा आवश्यक परेका नागरिकसम्म राहत पुग्न नसकेको बताएका छन्। राहत सामग्री कतिपय स्थानमा थुप्रिए पनि वितरण प्रणाली प्रभावकारी हुन नसकेको उनको भनाइ छ।
सरकारले अघि सारेको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसकेको राईले बताए। क्षतिको वास्तविक विवरण स्थानीय तहसँग रहेकाले राहत वितरणमा स्थानीय सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको उनले जोड दिए।
राईले शव व्यवस्थापन अत्यन्त संवेदनशील र जटिल विषय भए पनि आवश्यक उपकरणको अभाव रहेको बताए। पीडित परिवारको भावना तथा परम्परागत संस्कारलाई ध्यानमा राख्दै सुरक्षित र मर्यादित रूपमा शव व्यवस्थापन गर्न विज्ञसँग परामर्श गरेर अघि बढ्न सरकारसँग आग्रह गरिने उनले बताए।