

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
भेटमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोजी, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको हो।
त्यस्तै, बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतसँगै क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका विषयमा पनि छलफल भएको जनाइएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी गराएका थिए।
बाढीपछि प्रभावित क्षेत्रमा जारी खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने र पीडितलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने विषयमा समेत छलफल भएको बताइएको छ।