मनसुनको न्यूनचापीय रेखा नेपालनजिक, आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा नेपालनजिक, आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तर अर्थात् नेपालनजिक रहेको छ। रेखा नेपालनजिक रहँदा वर्षाको सम्भावना बढ्ने महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मधेस तथा कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली, पहाडी तथा तराई भूभाग तथा लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

त्यसैगरी, कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले उपत्यकामा अपराह्न मध्यमसम्म वर्षा हुनसक्ने बताए। उनका अनुसार दिउँसो १–२ बजेपछि वर्षाको सम्भावना बढ्ने देखिएको छ। काठमाडौं उपत्यकामा दिउँसोभन्दा राति वर्षाको सम्भावना अझ बढी रहेको उनले बताए।