

काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग अवरुद्ध भए पनि पेट्रोलियम पदार्थ तथा अत्यावश्यक सामग्रीको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमले जनाएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभिर नजिक त्रिशूली नदीले सडक कटान गरी भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुख्य राजमार्ग बन्द भएपछि काठमाडौंमा इन्धन तथा अत्यावश्यक सामग्रीको अभाव हुनसक्ने आशंका बढिरहेका बेला निगमले वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको जनाएको हो।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार मकवानपुरको हेटौंडा हुँदै पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ।
‘मकवानपुरको बाटो हुँदै इन्धन र ग्यास ढुवानी गर्दैछौँ,’ साहले भने, ‘ग्यासका धेरैजसो प्लान्ट तराईमै छन्। त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटो हुँदै ल्याउँछौँ।’
उनका अनुसार इन्धन आपूर्तिको मुख्य ब्याकअप अमलेखगञ्ज डिपो हो। पाइपलाइनमार्फत अमलेखगञ्जमा पर्याप्त तेल आउने भएकाले त्यहाँबाट काठमाडौंसम्म आपूर्ति निरन्तर राख्न सकिने निगमले जनाएको छ। निगमले अमलेखगञ्जबाट निजी ढुवानीकर्ता तथा डिलरका २० हजार र १२ हजार लिटर क्षमताका ट्यांकरमार्फत काठमाडौंमा इन्धन पठाउने जनाएको छ।
‘सडकका कारण आपूर्ति शृंखलामा एक–दुई घण्टा तलमाथि हुनसक्छ, तर आपूर्तिमा कुनै समस्या हुँदैन,’ साहले भने।
केही दिनदेखि अविरल वर्षाका कारण रोकिएका अधिकांश इन्धन ट्यांकर शनिबार नै काठमाडौं भित्रिसकेकाले तत्काल बजारमा पेट्रोलियम पदार्थको अभाव नहुने निगमले जनाएको छ।
राजमार्ग बन्द भएको खबरपछि बजारमा इन्धन नपाइने हो कि भन्ने त्रास फैलिन सक्ने भन्दै निगमले उपभोक्तालाई अनावश्यक चिन्ता नगर्न आग्रह गरेको छ।
‘आपूर्ति सहज रूपमा भइरहेको छ र हामीले वैकल्पिक व्यवस्था गरिसकेका छौँ। सबैलाई आश्वस्त हुन आग्रह छ,’ साहले भने।
अवरुद्ध सडक खुलाउने विषयमा भने सरकारले आवश्यक अध्ययन तथा पहल अघि बढाइरहेको छ।