कृष्णभीरमा पृथ्वी राजमार्ग भासियो, यातायात पूर्णरूपमा अवरुद्ध

कृष्णभीरमा पृथ्वी राजमार्ग भासियो, यातायात पूर्णरूपमा अवरुद्ध

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा सडक भासिएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।

आइतबार त्रिशूली नदीमा आएको बाढीले सडकको ठूलो क्षेत्रमा कटान गरेपछि सडक भासिएको हो। सडकको केही भाग नदीतर्फ बगेपछि पैदल यात्रुसमेत हिँड्न कठिन भएको छ।

सडकको ठूलो भाग भासिएकाले उक्त स्थानमा सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था छैन। सडक अवरुद्ध भएपछि राजमार्गमा सवारीसाधन रोकिएका छन् भने यात्रुहरू गन्तव्यसम्म पुग्न समस्यामा परेका छन्।

भासिएको स्थानमा थप कटानको जोखिमसमेत रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

त्रिशूली नदीमा आएको बाढीले यसअघि पनि पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान तथा क्षति पुर्‍याएको थियो। कृष्णभीरमा समेत सडक भासिएपछि काठमाडौं–चितवन हुँदै पूर्व–पश्चिम आवतजावत गर्ने यात्रु थप प्रभावित भएका छन्।

सडकको ठूलो हिस्सा क्षतिग्रस्त भएकाले तत्काल नियमित यातायात सञ्चालनमा ल्याउन चुनौती रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।