त्रिशूली–३ ‘ए’ टनेलमा फसेकाको उद्धार प्रयास जारी, ८ मिटर ड्रिलिङ

त्रिशूली–३ ‘ए’ टनेलमा फसेकाको उद्धार प्रयास जारी, ८ मिटर ड्रिलिङ

काठमाडौं । गत बुधबार आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धार प्रयास जारी रहेको सरकारी उद्धार टोलीले जनाएको छ।

उद्धार टोलीले गएरातिसमेत निरन्तर काम गरेको थियो। आइतबार बिहान खराब मौसम र बाढीका कारण केही समय उद्धार कार्य रोकिए पनि अवस्था केही सहज भएपछि पुनः सञ्चालनमा ल्याइएको छ।

८ मिटर ड्रिलिङ, चारवटा प्वाल तयार

पछिल्लो अपडेटअनुसार सुरुङको क्राउनसम्म पुग्ने गरी करिब ८ मिटर ड्रिलिङ गरिएको छ। हालसम्म चारवटा प्वाल ड्रिल भइसकेका छन् भने पाँचौँ प्वाल ड्रिल गर्ने काम भइरहेको छ।

उद्धार टोलीले एयर कम्प्रेसरमार्फत सुरुङभित्र अक्सिजन पठाइसकेको छ। ड्रिलमार्फत भित्र रहेका व्यक्तिलाई सन्देश पठाउने प्रयास गरिए पनि अहिलेसम्म कुनै जवाफ प्राप्त भएको छैन।

सुरुङभित्र रहेका व्यक्तिको अवस्था पत्ता लगाउन प्रकाश र ध्वनि संकेत पठाउने प्रयाससमेत भइरहेको छ। त्यस्तै, सुरुङको वास्तविक अवस्था पहिचान गर्न एक्स्काभेटरमार्फत खन्ने काम जारी छ।

थप ड्रिलिङ तथा आवश्यक प्रविधि र उपकरण प्रयोग गर्दै उद्धार कार्यलाई तीव्रता दिइएको छ। निरन्तर उद्धारका लागि आवश्यक थप इन्धन, मेसिन तथा जनशक्ति पनि आइतबार बिहानै घटनास्थलमा परिचालन गरिएको सरकारी उद्धार टोलीले जनाएको छ।