

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार कार्य जारी छ। नेपाली सेनाका अनुसार आज बिहान ८ बजेसम्म सेनाका हेलिकप्टरलगायत हवाई साधनबाट २ हजार ४६५ जनाको उद्धार गरिएको छ।
भदौ १० गतेको बाढीबाट प्रभावित टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट नेपाली सेनाका हवाई साधनमार्फत मात्रै १६३ जना विदेशी नागरिकको उद्धार गरिएको छ। उद्धार गरिएका विदेशीमध्ये ११३ भारतीय, ४ जर्मन, २६ चिनियाँ, २ अमेरिकी, २ इटालियन, १ ओमानी र १५ दक्षिण कोरियाली नागरिक रहेका छन्।
सेनाका अनुसार टनेलबाट १ हजार ९१ जनासहित कुल २ हजार २६५ जनाको हवाई उद्धार गरिएको छ भने स्थलमार्गबाट थप २०० जनाको उद्धार गरिएको छ। यसरी जम्मा २ हजार ४६५ जनाको उद्धार भएको हो।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्रबाट हालसम्म १ हजार ७०६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको जनाएको छ।
बाढी प्रभावित जिल्लामा नेपाली सेनाका ६ हजार ७०० भन्दा बढी सैनिक परिचालन भएका छन्। उनीहरूले घाइते तथा प्रभावितको खोजी, उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणको काम समन्वयात्मक रूपमा गरिरहेका छन्।
काठमाडौंबाट विभिन्न राहत सामग्री स्थलमार्ग हुँदै त्रिशूलीसम्म पुर्याएर त्यहाँबाट हवाई साधनमार्फत प्रभावित क्षेत्रमा पठाइएको छ। हालसम्म त्रिशूली थ्री ‘ए’ टनेल क्षेत्रमा ३ हजार ६०० केजी, मैलुङमा ५०० केजी र बेत्रावतीमा २२० केजी राहत सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ।
त्रिशूली थ्री ‘ए’ टनेल क्षेत्रमा भदौ १२ गतेदेखि नेपाली सेनाका ८४ जनासहित सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी १४६ जनाको टोली उद्धार कार्यमा खटिएको छ।