

काठमाडौं । सीमावर्ती क्षेत्र केरुङ तथा नेपालतर्फ बुधबार आएको विनाशकारी बाढी र पहिरोबारे चीनले प्रारम्भिक प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा विपद्को प्रारम्भिक अध्ययनबारे जानकारी दिँदै नेपालतर्फको उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किनु बाढीको मुख्य कारण हुनसक्ने बताएका हुन्।
उनका अनुसार चीन र नेपालका विज्ञ तथा सम्बन्धित आधिकारिक निकायले गरेको प्रारम्भिक मूल्यांकनले यही संकेत गरेको छ।
प्रवक्ता लिनले भने, ‘चीन र नेपालका विज्ञ तथा आधिकारिक संस्थाहरूले विपद्को कारणबारे प्रारम्भिक मूल्यांकन गरेको हामीले ध्यान दिएका छौँ। उहाँहरूको विश्लेषणअनुसार, नेपालतर्फको उच्च उचाइमा रहेको हिमनदी खसेका कारण यो विनाशकारी विपद् सुरु भएको हुन सक्छ।’
केरुङ तथा रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। प्रारम्भिक अध्ययनलाई उद्धृत गर्दै चीनले विपद्को कारणबारे यस्तो प्रतिक्रिया दिएको हो।