

काठमाडौं । नेपाल–चीन सीमा नजिकै तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह केही घटेपछि चिनियाँ अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः सुरु गरेका छन्। ताल फुटेर ठूलो बाढी आउन सक्ने जोखिम बढेपछि केही घण्टाअघि उद्धार कार्य स्थगित गरिएको थियो। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार तालको सतहमा केही कमी आएपछि अवस्था सामान्य बन्दै गएको र उद्धार कार्य पुनः सञ्चालनमा ल्याइएको हो।
पछिल्लो विवरणअनुसार तालबाट पानी बाहिरिने ओभरफ्लो क्रमसमेत रोकिएको छ। बाढीको जोखिम बढेपछि चिनियाँ अधिकारीहरूले करिब तीन घण्टासम्म उद्धार प्रयास रोकेका थिए।
तिब्बततर्फको जलाधार क्षेत्रमा आएको परिवर्तनका कारण नेपालतर्फ भोटेकोशी र त्रिशूली नदीमा बाढीको जोखिम बढेको छ। तालको सतह घटेको र पानीको ओभरफ्लो रोकिएको खबरले तल्लो तटीय क्षेत्रमा केही राहत मिले पनि जोखिम भने कायमै रहेको छ।
बाढी पूर्वानुमान महाशाखाले रसुवाको स्याफ्रुबेँसीदेखि मुग्लिनसम्म त्रिशूली नदी किनारमा बसोबास गर्ने बासिन्दालाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ।