

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढी प्रभावितका लागि राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ।
रास्वपा सभापति रवि लामिछानेका अनुसार यसबारे निर्णय गर्न पार्टीले आकस्मिक बैठक बोलाएको छ। संसद्मा बोल्दै उनले बैठकले राहत कोषमा उपलब्ध गराउने रकम तय गर्ने जानकारी दिए।
उनले रास्वपाका सांसदहरूले व्यक्तिगत रूपमा नभई सामूहिक रूपमा सरकारलाई विपद्को अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे पनि बैठकबाट निर्णय गरिने बताए। ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केहीबेरपछि आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध गराउने रकमको निर्णय गर्नेछ,’ लामिछानेले भने।
यसअघि रास्वपाकी सांसद समीक्षा बाँस्कोटाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा आफ्नो दुई महिनाको तलब–भत्ता जम्मा गर्ने घोषणा गरिसकेकी छन्।
रसुवागढी क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीका कारण टिमुरे, रसुवागढी र स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको प्रारम्भिक विवरण छ।
रास्वपाले विपद्को यस अवस्थामा सरकारलाई सहयोग गर्न पार्टीगत रूपमा थप निर्णय गर्ने जनाएको छ।