बाढी संकटबारे प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

बाढी संकटबारे प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट उत्पन्न संकटबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरमा बस्ने बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षति न्यूनीकरणका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र परिचालन गर्ने विषयमा निर्णय हुने तयारी छ।

तिब्बततर्फबाट आएको अप्रत्याशित बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुगेको छ। बाढीको प्रभाव चितवनसम्म पर्न सक्ने बाढी पूर्वानुमान शाखाको चेतावनीपछि सरकारले उच्च सतर्कता अपनाएको हो।

बैठकमा नदी तटीय क्षेत्रमा बढेको जोखिम, प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा विपद् व्यवस्थापनका लागि आवश्यक थप रणनीतिबारे छलफल हुने बताइएको छ।सरकारले सम्भावित जोखिमलाई मध्यनजर गर्दै राज्यका सबै सुरक्षा तथा उद्धार संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने तयारी गरेको छ।