

काठमाडौं । बुधबार आएको बाढीले रसुवा र नुवाकोटका विद्युतीय पूर्वाधारमा क्षति पुर्याएपछि धेरै स्थानमा विद्युत् तथा मोबाइल सेवा अवरुद्ध भएको छ। सञ्चार सम्पर्क टुट्दा बाढी प्रभावित क्षेत्रका नागरिकको अवस्थाबारे जानकारी लिन तथा उद्धार कार्य अघि बढाउन समेत कठिनाइ भएको छ।
परिवारका सदस्यसँग सम्पर्क हुन नसकेपछि प्रभावित क्षेत्रका नागरिकका आफन्तमा समेत चिन्ता बढेको छ। यही अवस्थालाई मध्यनजर गर्दै सरकारले प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट सञ्चार सम्पर्क स्थापित गर्ने तयारी गरेको छ।
सञ्चार उपकरणहरू हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ। प्रारम्भिक विवरणअनुसार बाढीले नेपाल टेलिकमका रसुवामा दुई र नुवाकोटमा पाँच गरी सातवटा टावरमा क्षति पुर्याएको छ। त्यस्तै, एनसेलको फाइबर लाइनसमेत बाढीले क्षतिग्रस्त बनाएको छ।
नेपाल टेलिकम र एनसेलका प्राविधिक टोली प्रभावित क्षेत्रमा पुगेर सञ्चार सेवा पुनः सञ्चालन गर्ने प्रयासमा छन्। तर विद्युत् आपूर्ति अवरुद्ध रहेकाले धेरै स्थानमा तत्काल सञ्चार सेवा सञ्चालन गर्न कठिनाइ भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्रीसँगै जेनेरेटर र पोर्टेबल मोबाइल टावर पुर्याउने तयारी भइरहेको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने बताएका छन्। यस्तो व्यवस्थाले प्रभावित नागरिकसँग सञ्चार सम्पर्क स्थापित गर्न तथा उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।