काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा जीवनरक्षाका लागि सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य परिचालन गर्ने विश्वास व्यक्त गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विपद्को यो अवस्थामा रास्वपा सरकारसँगै रहेको बताए। उनले प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग निरन्तर संवाद र सूचना आदानप्रदान भइरहेको जानकारी दिँदै नागरिकको जीवन रक्षा अहिलेको सबैभन्दा महत्वपूर्ण प्राथमिकता भएको बताए।
‘सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ। नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा भएकाले मैले सम्मानित सदनलाई प्रतिबद्धताका साथ बताउन सक्दछु,’ उनले भने।
बिहानदेखि सरकारका विभिन्न जिम्मेवार व्यक्तिसँग भएको छलफलका आधारमा उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन हुने लामिछानेले बताए। उनले विपद्को सामना गर्न सरकारले सक्दो सक्रियता देखाइरहेको समेत उल्लेख गरे।