

उदयपुर । उदयपुरको बेलका नगरपालिका-५ जहडामा स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सोमबार बिहान पौने १० बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५-००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए। घाइतेमध्ये बेलका-५ की करिब ३४ वर्षीया मन्दिरा मगर र पहिचान नखुलेकी एक महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा अस्पताल धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
अटो चालक बेलका-५ का करिब २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते छन्। विराटनगर-१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको छ भने बेलका-५ का १८ वर्षीय रोशन मगर पनि गम्भीर घाइते छन्। तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले बस र चालक बेलका–५ का करिब ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।