

काठमाडौं । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले ३१ औं साधारणसभाको अवसरमा सामाजिक परीक्षण सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२–०८३ मा सम्पन्न कार्यक्रम र कार्यान्वय भएका योजनाहरुको प्रगति विवरणको सामाजिक परीक्षण सम्पन्न गरिएको हो ।
सामाजिक परीक्षक सञ्जु केसीले वार्षिक कार्यप्रगति, पारदर्शीता र उत्तरदायित्वको मूल्यांकन गर्न नियमित कानुनी प्रकृयाअनुसार संस्थाको सामाजिक परीक्षण गरिएको बताइन् । कार्यक्रममा संस्थाले वर्षभरि गरेका उत्कृष्ट कार्यक्रमहरु मध्येको एक गत निर्वाचनको मतदाता शिक्षा कार्यक्रम भिडियोमार्फत् देखाइएको थियो ।

सामाजिक परीक्षणको उद्देश्यबारे प्रकाश पार्दै केसीले सामाजिक परीक्षण एफडब्लुएलडीको आगामी यात्राको लागि अवसर भएको बताइन् । यसबाट प्राप्त सुझावले प्रकृया, विधि, ध्येय, लक्ष्य, रणनीति र नीतिगत पैरवी गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
एफडब्लुएलडीले गत वर्ष १ हजार ३ सय ५० कानुनी परामर्श गरेको, २ सय २३ संघीय र ४३ प्रदेश सासदलाई अभिमुखी तालिम दिएको, ३ हजार ५ सय ११ नागरिकता मुद्दामा बहस पैरवी गरेको, ६ हजार ६ सय ६६ स्थानीय, न्याय क्षेत्रका ११, सञ्चारकर्मी ९८ लाई क्षमता अभिवृत्ति तालिम दिएको र १६ वटा मुद्दामा सहजिकरण गरेको परीक्षक केसीले बताइन् । पाँच प्रदेशका विभिन्न स्थानीय तहमा कानुन निर्माणमा सहयोग गरेको तथा निर्वाचन पर्यवेक्षण र महिला हक अधिकारमा काम गरेको परीक्षक केसीले तथ्यांक प्रस्तुत गरेकी थिइन् ।
अनागरिकको नागरिकता प्राप्ति, महिला अधिकार र सामाजिक क्षेत्रमा एफडब्लुएलडीको योगदानको प्रशंसा गर्दै काठमाडौं महानगरपालिका वडा–११ का वडाध्यक्ष हिरालाल तन्डुकारले कानुनी जटिलतामा फसेका विपन्न वर्गलाई संस्थाले गर्दै आएको निःशुल्क कानुनी सल्लाहले धेरैले न्याय पाएको बताए ।

सामाजिक र कानुन निर्माणको क्षेत्रमा एफडब्लुएलडीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको काठमाडौं महानगरपालिका सामाजिक विभाग प्रमुख समीक्षा निरौलाले बताइन् । प्रमुख निरौलाले एफडब्लुएलडीले धेरै प्रशंसनीय काम गरेको स्मरण गर्दै योजना कार्यान्वयनमा संस्थाले गरेको प्रयास सम्झनलायक रहेको भन्दै आगामी दिनमा अझ प्रगतिको शुभकामना दिइन् ।
एन्टी ट्राफिकिङ ब्यूरो प्रहरी उपरीक्षक बसन्त पाठकले एफडब्लुएलडीसंग पारस्परिक सहयोगका लागि प्रहरी सधै तयार रहेको बताए । कानुन थाहा छैन भनेर क्षमा नपाइने त्यसका लागि सचेतना महत्वपूर्ण भएकोले समाजमा सचेतना फैलाउन एफडब्लुएलडीले खेलेको भूमिका उल्लेखनीय रहेको बताए ।
कार्यक्रममा अनुपम आलेमगर र कृष्ण थापामगरले अनागरिकबाट एफडब्लुएलडीको सहयोगमा नागरिकता पाएर नागरिक बन्दाको सफलताको कथा सुनाएका थिए । एफडब्लुएलडीकी सचिव अधिवक्ता लक्ष्मी पोखरेलले कार्यक्रमको उद्देश्य र सामाजिक परीक्षणको महत्वबारे प्रकाश पारेकी थिइन् । सन्तोष चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रम एफडब्लुएलडीकी अध्यक्ष गीता अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।