

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले कार्कीलाई खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि पनि उनले नागरिक लगानी कोषमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्।
कार्की नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरी कार्यकारी निर्देशक पदबाट अवकाश भएका हुन्। उनले ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा पनि चार वर्ष काम गरेका छन्।
त्रिभुवन विश्वविद्यालय र अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट स्नातकोत्तर गरेका कार्कीले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायत विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत लिएका छन्। नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जनाको नाम अन्तिम छनोट सूचीमा परेको थियो।