

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको बजार अन्तिम समयमा सकारात्मक बनेको हो। बुधबार नेप्से परिसूचक ०.५५ अंक बढेर २६४२.४० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३९ अंक, फ्लोट इन्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४८ अंक बढेको छ।
नेप्से सामान्य बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार ४ अर्ब ११ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ४३ हजार ९९० पटकको कारोबारमा ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैयाँबराबरको ८७ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बुधबार माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ४५ रुपैयाँ बढेर ३४५ रुपैयाँमा अन्तिम कारोबार भएको हो।कम्पनीको शेयर मंगलबार मात्रै नेप्सेमा सूचीकृत भएको थियो भने बुधबारदेखि नियमित कारोबार सुरु भएको हो।
त्यस्तै, इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य करिब ५.५ प्रतिशत बढेको छ। कारोबारमा आएको १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य भने सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३१ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको करिब साढे २२ करोड रुपैयाँको कारोबार भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम २२ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
१३ उपसमूहमध्ये बुधबार पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। लगानी उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। बैंकिङ, वित्त, होटल तथा पर्यटन र म्युचुअल फन्ड उपसमूहको परिसूचक भने सामान्य अंकले बढेका छन्।