‘नेप्से बजार सुधारका लागि ठोस कदम चाल्छौँ’- सेबोन

‘नेप्से बजार सुधारका लागि ठोस कदम चाल्छौँ’- सेबोन

काठमाडौं । लगातारको गिरावटसँगै नेप्से परिसूचक २ हजार ६५० को आसपास झरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजार सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

बजार आफ्नै उच्च विन्दु ३ हजार २२७ बाट करिब १८ प्रतिशतले घटेको अवस्थामा नेपाल सेयर बजार लगानीकर्ता संघको प्रतिनिधिमण्डलसँग सोमबार भएको छलफलमा सेबोन अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको हकहित संरक्षण र बजारमा पारदर्शिता कायम गर्नु आफ्नो प्राथमिकता रहेको बताएका हुन्।

अध्यक्ष भट्टले विद्यमान कानुनी जटिलता समाधान गर्न नयाँ धितोपत्र ऐन निर्माणमा ढिलाइ भए आवश्यक परे अध्यादेशमार्फत भए पनि पुराना समस्या समाधान गर्न आफू तयार रहेको स्पष्ट पारे।

सुस्त अर्थतन्त्र र साना लगानीकर्ताको जोखिम

संघका उपाध्यक्ष भगवानबहादुर रावतको नेतृत्वमा महासचिव रविन कँडेल तथा कार्यसमिति सदस्य ऋषि भेटवाल र विवेक श्रेष्ठसहितको टोलीले सेबोन नेतृत्वसँग छलफल गरेको थियो।

छलफलमा उपाध्यक्ष रावतले नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा तल खुम्चिएको र बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गरे।

उनले बजारमा हल्लाका आधारमा हुने उतारचढावका कारण साना लगानीकर्ताको बचत जोखिममा परेको बताए। सेयर बजारलाई सीमित समूहको कमाउने माध्यम नभई मुलुकको अर्थतन्त्र सुधारमा योगदान पुर्‍याउने वास्तविक माध्यम बनाउनुपर्नेमा उनले जोड दिए।

इन्साइडर ट्रेडिङ र सामाजिक सञ्जालको अफवाहमाथि प्रश्न

छलफलका क्रममा लगानीकर्ता प्रतिनिधिहरूले बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ), कृत्रिम रूपमा मूल्य बढाउने–घटाउने गतिविधि तथा सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचना र अफवाह नियन्त्रणमा नियामक निकायको भूमिकामाथि प्रश्न उठाए।

जवाफमा अध्यक्ष भट्टले बजार सुधारका लागि आफूले काम सुरु गरिसकेको बताए। उनले लगानीकर्तालाई बजारको वास्तविक अवस्था र कम्पनीको वित्तीय अवस्थाबारे अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरे।

बोर्डले लगानीकर्ता सचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो। तर, प्रतिनिधिमण्डलले विगतमा पनि बोर्ड नेतृत्वबाट यस्तै आश्वासन आउने गरेको भन्दै व्यवहारमा ठूला घटनामा सामान्य जरिवाना गर्ने र अनुसन्धानलाई वर्षौँसम्म लम्ब्याउने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिएको थियो।

सर्ट सेलिङ र इन्ट्राडे ट्रेडिङ लागू गर्ने तयारी

अध्यक्ष भट्टले सर्ट सेलिङ र इन्ट्राडे ट्रेडिङका विषयमा आफूले लामो समय अध्ययन, अध्यापन तथा वकालत गरेको स्मरण गर्दै यी व्यवस्थालाई व्यवहारमै कार्यान्वयन गर्ने दाबी गरे।

यसका लागि आवश्यक तयारी तीव्र गतिमा भइरहेको र लगानीकर्ताले छिट्टै यसको प्रयोग गर्न पाउने उनले बताए। बजारको आधुनिकीकरणका लागि सेबोनको आन्तरिक पूर्वाधार तथा संस्थागत क्षमता अभिवृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

आश्वासनभन्दा कडा नियमन आवश्यक

संघका महासचिव रविन कँडेलले नियामक निकाय आश्वासन र घोषणामा मात्र सीमित नभई कडा नियमन तथा प्रभावकारी कारबाहीमा उत्रिनुपर्ने बताए। नयाँ नेतृत्वले सार्वजनिक गरेको श्वेतपत्र सकारात्मक भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट समयसीमा (टाइमलाइन) निर्धारण गर्नुपर्ने उनको भनाइ छ।

लगानीकर्ता संघका मुख्य माग

छलफलमा संघले विभिन्न विषयमा सेबोनको ध्यानाकर्षण गराएको छ। व्यक्तिगत जवाफदेहिता : गैरजिम्मेवार वा गलत निर्णय गर्ने अधिकारीलाई व्यक्तिगत रूपमा जवाफदेही बनाउने तथा अनुचित रूपमा प्राप्त नाफा फिर्ता गराउने व्यवस्था नयाँ ऐनमा गर्नुपर्ने माग गरिएको छ।

समितिमा लगानीकर्ताको प्रतिनिधित्व : बोर्डले गठन गर्ने विभिन्न अध्ययन तथा सुधार समितिमा सर्वसाधारण लगानीकर्ताको प्रतिनिधित्व नगराइएको भन्दै संघले आपत्ति जनाएको छ।

विभेदकारी नीति अन्त्य : T+1 र T+2 फर्स्योट प्रणालीको प्रयोगका विषयमा उठेका गुनासा तथा त्यसबाट साना लगानीकर्तामाथि हुनसक्ने सम्भावित विभेदबारे स्पष्ट व्यवस्था गर्न माग गरिएको छ।

संघले सर्वसाधारण लगानीकर्ताको बचत सुरक्षित हुन नसकेमा सेयर बजारप्रतिको विश्वास कमजोर हुने चेतावनी दिएको छ। लगानीकर्ताका समस्या र मागलाई व्यवहारमै सम्बोधन नगरेसम्म बोर्डका गतिविधिप्रति पूर्ण विश्वास गर्न कठिन हुने निष्कर्ष प्रतिनिधिमण्डलले निकालेको छ।