नेप्से ९ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

नेप्से ९ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्सेले सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स २.२० अंक, फ्लोट इन्डेक्स ०.६१ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७२ अंकले घटेका छन्।

नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३५२ स्टकको ५३ हजार ५२४ पटकको कारोबारमा १ करोड ९ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक बढ्यो

सोमबार कारोबारमा आएका कम्पनीमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.४७ प्रतिशतले बढेको छ। त्यस्तै, दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य ६ प्रतिशतले वृद्धि भएको छ। अन्य शेयरको मूल्यवृद्धि भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन कारोबारमा आएको रिलायबल समृद्धि योजना-२ को इकाईमूल्य सर्वाधिक ९.७० प्रतिशतले घटेको छ।

सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा सोमबार सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावर कम्पनीको करिब ३० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कारोबार रकम भने १२ करोड रुपैयाँ नाघेको छ।

१३ मध्ये चार उपसमूह बढे

सोमबार १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने बाँकी नौ उपसमूहको परिसूचक घटेको छ। बढ्ने उपसमूहतर्फ जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा रहेका छन्। यी उपसमूहका परिसूचकमा सामान्य वृद्धि भएको छ। अन्य उपसमूहका परिसूचक भने घटेका छन्।