

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि लगातार घटिरहेको नेप्से यस दिन भने ०.७९ अंकले बढेर २ हजार ६४१.८५ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इन्डेक्स ०.८५ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० अंकले वृद्धि भएको छ।
नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। सोमबार ३ अर्ब ६७ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा मंगलबार ३४० स्टकको ५२ हजार ७ सय ३ पटक कारोबार भयो। यस क्रममा ९५ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँ पुगेको छ।
कारोबारमा आएको Upper Lohore Khola Hydropower Company को शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयरमूल्य ५६ रुपैयाँ ९० पैसा बढेर ४३६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको हो। मंगलबार मूल्य बढेका अन्य स्टकको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ। यस दिन Mahila Laghubitta Bittiya Sanstha को शेयरमूल्य सर्वाधिक १४.९१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा Soluhydropower Limited शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, Ridi Power Company को ३३ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ङादी ग्रुप पावरको पनि करिब १८ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये मंगलबार ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ। बाँकी ७ उपसमूह भने घटेर बन्द भएका छन्।