काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढ्दै अघिल्लो दिनकै हाराहारीमा थामिएको छ। लगातार तीन कारोबार दिन घटेको बजारमा आज नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेको हो।
कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
आज कारोबारमा आएका १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको घटेको छ। त्यस्तै, २० कम्पनीको मूल्य स्थिर रह्यो।
सबै समूहगत सूचकमा १ प्रतिशतभन्दा कम उतारचढाव देखिएको छ। बैंकिङ समूह ०.३२ प्रतिशत, होटल तथा पर्यटन ०.५० प्रतिशत, जलविद्युत् ०.०५ प्रतिशत, लगानी ०.०७ प्रतिशत, जीवन बीमा ०.०९ प्रतिशत र अन्य समूह ०.०३ प्रतिशतले बढेका छन्।
यस्तै, विकास बैंक ०.१० प्रतिशत, फाइनान्स ०.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०८ प्रतिशत, माइक्रोफाइनान्स ०.३६ प्रतिशत, निर्जीवन बीमा ०.४० प्रतिशत र व्यापार समूह ०.७७ प्रतिशतले घटेका छन्।
हाइड्रोपावरमा उच्च कारोबार
समूहगत कारोबारमा जलविद्युत् समूह सबैभन्दा अगाडि रह्यो। यस समूहमा २ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूहमा ३५ करोड, वाणिज्य बैंकतर्फ ३४ करोड र माइक्रोफाइनान्स समूहमा २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कम्पनीतर्फ अपर लोहोरेखोलाको सेयर मूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ। हिमस्टार ऊर्जाको ३.७४ प्रतिशत र अपर हेवाखोलाको ३.६० प्रतिशतले मूल्य बढेको छ।
यता महिला लघुवित्तको सेयर मूल्य सर्वाधिक १४.९१ प्रतिशत घटेको छ। सप्तकोशी विकास बैंकको ३.९५ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सको ३.५५ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर, रिडी पावर, ङादी ग्रुप, खानीखोला हाइड्रोपावर र फर्स्ट माइक्रोफाइनान्स क्रमशः अगाडि रहेका छन्।