

काठमाडौं । मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउत अनुबन्ध भएकी छन्। फिल्ममा उनले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निर्वाह गर्ने भएकी हुन्। निर्माण टिमका अनुसार वर्षाले अभिनेता अरुण क्षेत्रीको अपोजिटमा अभिनय गर्नेछिन्। अरुण यसअघि नै फिल्ममा हरिवंश आचार्यको भूमिकाका लागि अनुबन्ध भइसकेका छन्।
वर्षा र अरुणले ‘म मदनकृष्ण’मा हरिवंश र उनकी श्रीमतीको भूमिका निर्वाह गर्नेछन्। यही टिमले भविष्यमा निर्माण गर्ने हरिवंश आचार्यको बायोपिकमा पनि वर्षा नै उक्त भूमिकामा रहने निर्माण पक्षले जनाएको छ।
मदनकृष्ण श्रेष्ठको जीवनका सुख-दुःख, संघर्ष, आरोह-अवरोह तथा विभिन्न महत्वपूर्ण घटनालाई समेटेर निर्माण हुन लागेको फिल्मलाई मिलन चाम्सले निर्देशन गर्नेछन्। फिल्ममा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन्। त्यस्तै, अभिनेत्री केकी अधिकारीले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन्।
बायोपिकमा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य तथा अन्तरजातीय विवाहलगायतका महत्वपूर्ण घटनालाई समेटिने निर्माण पक्षले जनाएको छ। फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाललगायतका कलाकारको समेत अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने ‘म मदनकृष्ण’का निर्माता राजकुमार श्रेष्ठ हुन्। मदनकृष्ण श्रेष्ठको व्यक्तिगत जीवन, कलायात्रा र नेपाली मनोरञ्जन क्षेत्रमा पुर्याएको योगदानलाई पर्दामा प्रस्तुत गर्ने उद्देश्यले फिल्म निर्माण गर्न लागिएको हो।