काठमाडौं । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले नेपाललाई आगामी चार वर्षका लागि खोप तथा नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ।
शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगान नेतृत्वको टोलीबीच भएको उच्चस्तरीय छलफलमा सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्यबारे विस्तृत छलफल भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार गाभीले उक्त अवधिका लागि ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ। प्रस्तावअनुसार नेपालले पनि १ करोड ७१ लाख अमेरिकी डलर सह–वित्तीय लगानी गर्नुपर्ने विषयमा छलफल भएको छ।
नेपाल र गाभीबीचको सहकार्य सन् २००१ देखि जारी छ। पछिल्लो २५ वर्षमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप, कोल्ड चेन पूर्वाधार विकास तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरेको मन्त्रालयले जनाएको छ।
हाल गाभीले नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका ११ प्रकारका खोपमध्ये पाँच प्रकारमा सह–लगानी गर्दै आएको छ भने एक प्रकारको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ। परिवार कल्याण महाशाखामार्फत सञ्चालन हुने नियमित खोप कार्यक्रम तथा विभिन्न खोप अभियानमा पनि गाभीको महत्वपूर्ण सहयोग रहँदै आएको छ।
बैठकमा विश्वव्यापी रूपमा विकास सहायता र वित्तीय स्रोत घट्दै गएको सन्दर्भमा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दीर्घकालीन रूपमा कसरी दिगो बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो।
गाभीका प्रतिनिधिले नेपालको खोप कार्यक्रमको उपलब्धिको प्रशंसा गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको नेतृत्वको सराहना गरेका छन्। साथै, आगामी दिनमा पनि नेपालको खोप कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।